युनियन पेको भुक्तानी सेवा नेपालमा - Naya Patrika
eNaya Patrika
  • ePaper

युनियन पेको भुक्तानी सेवा नेपालमा

नेपाली कम्पनी क्युपे प्राइभेट लिमिटेड (क्युपे)ले नेपाली बजारमा युनियन पेको पेमेन्ट प्रडक्टहरू लन्च गर्ने भएको छ । क्युपेले युनियन पे इन्टरनेसनल (युपिआई)सँगको सहकार्यले क्युपे र युनियन पे क्युआर कोड नेटवर्कभित्र सहजै कारोबार गर्न मिल्ने व्यवस्था गरेको हो ।

कम्पनीले यसअघि नै क्युपे एप क्युआरमा आधारित मोबाइल वालेट पनि सञ्चालनमा ल्याएको थियो । यो एप नवीनतम उन्नत प्रविधि अर्थात् ‘कटिङ एज टेक्नोलोजी’मा आधारित रहेको क्युपेले जनाएको छ । यसबाट क्युपेका उपभोक्ताले विभिन्न उत्पादन र सेवाहरूको भुक्तानी भरपर्दो, सरल र निकै सजिलो तरिकाले गर्न सक्ने कम्पनीको दाबी छ । यो सहकार्यले क्युपेका उपभोक्ताहरूलाई नबिल र सिद्धार्थ बैंकका साथै युनियन पेको सदस्य क्युआर मर्चेन्ट नेटवर्कमा आबद्ध मर्चेन्टकहाँ उपलब्ध उत्पादन/सेवाको कारोबार अनलाइनबाटै गर्न सक्षम बनाउने जनाइएको छ ।

क्युपे र युनियन पे क्युआर कोड नेटवर्कबीचको यो ‘इन्टर ओपेराबिलिटी’ले चिनियाँ पयर्टक तथा युनियन पेका कार्डबाहकलाई आफ्नै मोबाइल वालेटबाटै क्युपे क्युआर मर्चेन्ट नेटवर्कमा भएका उत्पादन र सेवाको निर्बाध भुक्तानी गर्ने मौका दिने जनाइएको छ । क्युपे र युनियन पेबीचको यस सहकार्यले नेपालमा भुक्तानीको डिजिटल माध्यमको विकासलाई प्रेरित गर्नुको साथै विकासमा योगदान पनि दिने अपेक्षा गरेको कम्पनीले जनाएको छ ।

युपिआई चाइना युनियन पेको सहायक कम्पनी हो । चीनबाहिर विश्वका २ हजार संस्थासँगको साझेदारी गरेर युपिआईले १ सय ७१ देश र क्षेत्रमा युनियन पे कार्ड चल्ने बनाएको जनाएको छ । कम्पनीले ५० देश र क्षेत्रमा युनियन पेको कार्ड जारी गरेको छ ।

नबिल बैंक पनि सहभागी
नबिल बैंकले युनियन पे इन्टरनेसनल र रोजगारी सर्भिसेज प्रालिस“गको समन्वय तथा सहकार्यमा ‘युनियन पे इन्टरनेसनल क्युआर कोड पेमेन्ट सर्भिस’ सुरु गरेको छ । बैंकले विश्वकै अग्रणी अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली युनियन पे इन्टरनेसनल र नेपालकै उत्कृष्ट रिक्रुटमेन्ट सलुसन कम्पनी रोजगारी सर्भिसेज प्रालिले सहकार्य गर्ने भएका हुन् ।


क्युआर पेमेन्ट सर्भिस, भुक्तानी सेवा तथा नेटवर्क विकासमा एक–अर्काका विषेशज्ञतालाई एकैठाउँमा ल्याई अझ विकास गर्नमा यो सहकार्य उपयोगी हुने बैंकको ठहर छ । रोजगारी सर्भिसेज प्रालिले नबिल बैंकका लागि देशभरि नै क्युआर मर्चेन्ट नेटवर्क सेवा विकास तथा विस्तार गर्ने बैंकले जनाएको छ ।

यसमार्फत ग्राहकले आफ्नो मोबाइलमार्फत क्युआर कोडको प्रयोग गरी सजिलैसँग भुक्तानीको प्रक्रिया गर्न सक्नेछन् । नेपालमा नै प्रथमपटक सुरुवात गरिएको क्युआर मर्चेन्ट पेमेन्टमार्फत क्युआर कोडको प्रयोग गरी नबिल बैंकसँग आबद्ध नेपाली व्यवसायीले विद्युतीय सेवामार्फत सरल तथा सुरक्षित वातावरणमा आफ्नो उत्पादन र सेवाहरूको बिक्री तथा भुक्तानी लिन सक्ने बैंकले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु