मनाङ मैदानमा, सुजल बेन्चमा - Naya Patrika
eNaya Patrika
  • ePaper

मनाङ मैदानमा, सुजल बेन्चमा

जर्सी नं. १५ । नेपाली फुटबल पछ्याउनेका लागि परिचित जर्सी । यही जर्सी लगाएर मिडफिल्डमा खेल्ने सुजल श्रेष्ठको खुट्टामा बल परेपछि नेपाली दर्शक उत्साहित भइहाल्छन् । राष्ट्रिय टिममा उनी अपरिहार्यजस्तै भएका छन् । उनी मनाङ मर्स्याङ्दी क्लबका खम्बा नै हुन् । तर, यतिवेला सहिद स्मारक ए डिभिजन लिग भइरहँदा उनी मैदानबाहिरै छन् ।

अचेल सुजल जब एन्फा गेटभित्र पस्छन्, उनलाई खल्लो लाग्छ । मैदानमा आफ्नो छुट्टै अस्तित्व बनाएका सुजल ए डिभिजन लिगमा भने बेन्चमा बस्न बाध्य छन् । तर, बेन्चबाटै भए पनि साथीहरूको हौसला बढाइरहेका छन् । उनको टिम मनाङ लिग तालिकाको शीर्ष स्थानमै छ ।

सुजल मनाङका लागि मात्र होइन, राष्ट्रिय टिमका पनि भरपर्दा विंगर हुन् । उनी परिस्थितिअुनसार जुनसुकै भूमिका निभाउन सक्ने थोरै खेलाडीमध्येमा पर्छन् । तर, यतिवेला करिअरको सर्वाधिक राम्रो फर्मममा रहँदा सुजल चोटका कारण मैदानबाहिर रहन बाध्य छन् । उनको दायाँ हातमा चोट लागेपछि कम्तीमा पाँच हप्ता आराम गर्नुपर्ने भएको छ ।

अभ्यासको ट्रयाकल महँगो
घाइते हुनुअघि उनले अन्तिमपटक मनाङ मस्र्याङ्दीबाटै खेलेका थिए । मनाङ टिम सिक्किम सरकारले आयोजना गर्ने गभर्नर्स गोल्डकप खेल्न ग्यान्टोक गएको थियो । सेमिफाइनलमा उनी मैदानमा ढले । दायाँ हातको पातोमा सामान्य चोट लाग्यो । तर, टेप लाएरै उनले प्रतिस्पर्धा गरे । उनी मनाङका कप्तान थिए ।

टेप लगाएरै फाइनलका लागि पनि मैदान उत्रिएर मनाङलाई उपाधि जिताए । नेपाल फर्किएलगतै लिग तयारीका लागि टिम अभ्यासमा फर्कियो । २७ कात्तिक बिहान उनी मैदानमा अभ्यास गरिरहेका थिए । आफ्नै साथी विशाल बस्नेतसँगको ट्याकल यति महँगो होला भन्ने उनले कल्पना पनि गरेका थिएनन् ।

‘बिहान अभ्यास गर्दा ट्याकल भयो, दायाँ हात दुख्यो, सामान्य होला भन्ने सोचेको थिएँ, त्यही पनि बेलुका डाक्टरसँग समय लिएर जचाउन गएँ, हात त भाँचिएको रहेछ,’ उनले भने । सुजललाई चोट यति गम्भीर होला भन्ने लागेको थिएन । त्यही चोटका कारण उनले ए डिभिजन लिग गुमाए ।

मैदान उत्रिएरै उपाधिको धोको
खेल्न नपाउनु खेलाडीका लागि सर्वाधिक ठूलो पीडा भएको सुजलले बताए । त्यसो त यो नै सुजलको पहिलो चोट भने होइन । चोटकै कारण सबैभन्दा लामो समय मैदानबाहिर भएको चाहिँ यही पहिलो हो ।

‘कोही वेला लाग्छ, मैदानमै नआऊँ, तर मन मान्दैन, टिमको सपोर्टका लागि भए पनि मैदान आउनुपर्छ, मैले जानेकै फुटबल खेल्न हो, खेल्न नपाउँदा मन भक्कानिन्छ,’ उनी भन्छन् । यद्यपि, सुजल निराश भने छैनन् । व्यक्तिगत पीडा एकातिर छ, यता उनको टिम मनाङ भने लगातार जित निकालिरहेको छ । त्यसले उनलाई हौस्याएको छ । अपराजित यात्रा कायम रहँदा क्लबले उनको कमी महसुस गरेको छैन ।

उनी आफूहरूमाथि चुनौती पनि थपिँदै गएको बताउँछन् । युवा खेलाडीहरू नयाँ कौशलसहित आउँदा आफूहरूले थप मिहिनेत गर्नुपर्ने उनको भनाइ छ । ‘यो सकारात्मक चुनौती हो, यसले फुटबललाई अघि बढाउँछ,’ उनी भन्छन् ।

सुजल जतिसक्दो चाँडो मैदान फर्किन प्रयासरत छन् । तर, अझै तीन साता उनले आराम गर्नुपर्नेछ । लिगको अन्तिममा भए पनि आफू मैदान उत्रिन चाहन्छन् । ‘मैदानमा नै भएर मनाङलाई ट्रफी दिलाउने लक्ष्य छ, हेरौँ कति चाँडो रिकभर हुन्छ,’ उनी भन्छन् । घाइते हुनुलाई पनि उनले एउटा अवसर मानेका छन् । यतिवेला उनी आफ्ना कमजोरी केलाइरहेका छन् । ‘बाहिरबाट हेर्दा धेरै कुरामा भएको गल्ती देखिँदो रहेछ, अहिले आफ्नै गल्ती पनि खोजिरहेको छु, त्यसैले मेरा लागि यो अर्को मौका हो ।’

बुबाले किनिदिएको फुटबल हराएपछि
फुटबल खेल्न कहिलेबाट सुरु भयो भन्ने ठ्याकै समय उनलाई पनि याद छैन । तर, उनलाई फुटबलप्रतिको लगाव भने आफ्नै बुबाबाट मिलेको हो । उनलाई पहिलोपटक १९९८ को विश्वकप फुटबल हेरको याद छ, आफ्नै घर धनकुटामा । ‘बुबासँग मैले पहिलोपटक १९९८ को विश्वकप हेरेको थिएँ, तर, मैले खासै फुटबल बुझेको थिइनँ,’ उनले सम्झिए, ‘बुबा भने ब्राजिलको सपोर्टर हुनुहुन्थ्यो, त्यसैले धेरै रोनाल्डोको नाम सुनेँ, त्यही नामले नै मलाई फुटबलमा लाग्न प्रेरित ग-यो ।’

विश्वकपको प्रभाव उनलाई परिहाल्यो । अनि घरबाहिर प्लास्टिकको बल खेलाउन थाले । उनको मोह देखेपछि बुबाले फुटबलै किनेर ल्याइदिए । तर, केही दिनमै बल हरायो । उनलाई पर्नुसम्म पिर प-यो । दुई दिन त रोएरै बिताएको उनलाई अझै याद छ ।

धनकुटादेखि राष्ट्रिय टिमसम्म
नेपाली फुटबल इतिहासमा धराने खेलाडीको धेरै योगदान छ । राजुकाजी शाक्य त कप्तानै भए । वास्तवमा सुजल पनि धरानकै उत्पादन हुन् । उनी पढ्नका लागि धरान झरे । होस्टेल बसे । फुटबल खेल्न सिके । त्योभन्दा ठूलो कुरा फुटबल खेल्न साहस बटुले । अनि कौशल पनि जाने ।

एकपटक छुट्टिमा धनकुटास्थित घर पुगेका थिए । त्यतिवेला १४ वर्षमुनिको टिम बनाउन जिल्लास्तरीय छनोट भइरहेको थियो । उनी पनि छनोटमा सहभागी भए । जिल्लाको टिममा परे । १४ वर्षमुनिको राष्ट्रिय प्रतियोगिता खेल्न काठमाडौं आए । सो प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा उनले एन्फा एकेडेमीमा प्रशिक्षण गर्ने मौका पाए । उनले सबैखाले उमेर समूहमा प्रतिस्पर्धा गरेका छन् ।

उनले राष्ट्रिय टोलीमा भने सन् २०११ मा डेब्यु गरे । पहिलो खेल भुटानविरुद्ध थियो । सोलिडारिटी कपमा भुटानविरुद्ध डेब्यु गरेपछि उनी राष्ट्रिय टिममा नियमितजस्तै भए । राष्ट्रिय टिमको महत्वपूर्ण उपलब्धिको हिस्सेदार बने । फुटबलमा लागेपछि परिवारले पनि उनलाई राम्रै सहयोग गरेको छ । सामान्य परिवारबाट फुटबल करिअर बनाउनु आफैँमा चुनौतीपूर्ण मान्छन्, उनी । उनी फुटबल खेल्न पाउँदा सन्तुष्ट छन् ।

तर, भविष्यप्रति उत्तिकै चिन्तित । ‘खेलुन्जेल नाम र दाम भए पनि भविष्य भने खेलाडीका लागि पीडादायक हुन्छ, वेलैमा विकल्प सोच्नुपर्ने हुन्छ, किनभने खेलेकै भरमा जीवन चल्ने अवस्था छैन,’ उनी भन्छन् । मैदानमा रहुन्जेल मात्र कुनै पनि खेलाडी आफ्नो प्रदर्शनीले बाँच्न सक्ने उनी बताउँछन् । यद्यपि, उनी आफैँले भने खेलजीवनपछि के गर्ने निर्णय लिइसकेका छैनन् ।

राष्ट्रिय टिमकै साथी नजिक
एउटा फुटबलरका लागि आफ्नै क्लबका सहकर्मी सर्वाधिक नजिकका साथी हुन्छन् । तर, नेपालमा नियमित लिग नहुँदा खेलाडीले क्लब फुटबलमा अनुबन्ध भएर खेल्न हत्तपत्त पाउँदैनन् । त्यही भएर सुजल बढी समय राष्ट्रिय टिमकै सदस्यसँग हुन्छन् । उनीहरूसँगै नजिक छन् । भन्छन्, ‘क्लबभन्दा बढी राष्ट्रिय टिमसँग भएर होला, राष्ट्रिय टिमका खेलाडी नै बढी फेमिलियर र नजिक लाग्छन् ।’ त्यसो त उनको चर्चा पनि क्लब फुटबलमा भन्दा राष्ट्रिय टिममा नै बढी छ ।

उनले सोलिडारिटी कपमा गरेको विजयी गोल अहिले पनि सम्झिन्छन् । त्यही गोलबाट उनको चर्चा पनि चुलियो । त्यसो त मनाङले जितेका हरेक प्रतियोगिता उनका लागि अविस्मरणीय छन् । केही समयअघि जितेको सिक्किमको गर्भनस गोल्डकप, भुटानमा भएको किंग्स कपलगायत खेलमा उनी आफ्नो प्रदर्शन र टिमको उपलब्धिबाट सन्तुष्ट छन् ।

करिअरको अन्त्य कसरी ?
फुटबलमा करिअर सधैं अनिश्चित छ । को कहाँ पुग्छ र कहिलेसम्म खेल्छ भन्ने टुंगो हुँदैन । उनले एउटै क्लबमा लामो समय बिताएर क्लब छाडेका धेरै खेलाडी देखेका छन्, जसको दैनिक जीवनयापनमा नै समस्या छ । उनलाई नेपालमा ‘खुट्टा भइन्जेल मात्र बाँचिन्छ’ भन्ने कुराले सर्वाधिक बढी पिरोल्छ ।

उनी अहिले मनाङबाट खेलिरहेका छन् । भविष्यमा पनि मनाङमा नै रहेर काम गर्ने धोको छ । सुजल नेपाली फुटबलमा अझै धेरै विकास हुन बाँकी रहेको मान्छन् । देख्दा सामान्यजस्तो लागे पनि फुटबल विकासका लागि खेलाडीको भविष्य सर्वाधिक महत्वपूर्ण हुन्छ । जुन दिन खेलाडीले आफ्नो भविष्य सुरक्षित भएको मान्छ, त्यो दिन नेपाल पनि विश्व फुटबलमा बलियो हुने उनको विश्वास छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु