भूकम्पले घर भत्किएपछि आफ्नै खर्चमा आवास बनाएका लमजुङका भूकम्पपीडितले सरकारबाट अनुदान नपाएको गुनासो गरेका छन् । बैंकबाट चर्को ब्याजमा ऋण काडेर घर बनाएका पीडितले सरकारले अनुदान नदिएको गुनासो गरेका हुन् ।
बेँसीसहर नगरपालिकाले आयोजना गरेको ‘जनताको आवाज, मेयरको जवाफ’ विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्पपीडितले सरकारले अनुदानमा पक्षपात गरेको गुनासो गरेका हुन् ।
भूकम्प प्रभावित लाभग्राही सूचीमा परेकाले पहिलो किस्ताबापत ५० हजार, दोस्रो किस्तामा एक लाख ५० हजार र तेस्रो किस्तामा एक लाख गरी तीन लाख रुपैयाँ अनुदान पाउने कार्यविधि छ ।
बेँसीसहर नगरपालिका–११ पास्नीडाँडाका हरिकृष्ण तिवारीले भूकम्पले घर भत्किएपछि साढे ८ लाख रुपैयाँ खर्चेर घर बनाए पनि सरकारले अनुदान नदिएको गुनासो गरे । ‘घर भत्किएपछि ओत लाग्ने ठाउँ भएन । सरकारी अनुदान ढिलो हुने देखेपछि बैंकबाट ऋण काडेर घर बनाएँ,’ तिवारीले भने, ‘तर, अझै घर पास भएको छैन ।’
उनले पहिलो किस्ता ५० हजार पाए पनि दोस्रो किस्ता पाउन सकेका छैनन् । बेँसीसहर–११ चिती तिलाहारकी मिठु सार्कीले पनि सरकारी अनुदान नपाएको गुनासो गरिन् । ‘घर बनाउँदा इन्जिनियर थिएनन् । आफ्नै ढंगले घर बनायौँ, तर, अहिले इन्जिनियरले घर पास गर्न मानिरहेका छैनन् ।
अनुदानमा सहयोग गर्छौं : वडाध्यक्ष
वडाध्यक्ष अच्युत बगालेले भूकम्पपीडितलाई अनुदानका लागि आफूले पहल गर्ने बताए । १२ वैशाख ०७२ को भूकम्पबाट लमजुङमा १३ हजार ९ सय ५९ घर पूर्णरूपमा क्षतिग्रस्त भएका थिए । त्यसमध्ये १३ हजार ३ सय १९ परिवारले पुनर्निर्माणको सम्झौता गरेका छन् । सम्झौता भएकामध्ये १३ हजार ३ सय १९ परिवारले पहिलो किस्ता रकम पाएका राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका फोकल पर्सन शिव रेग्मीले बताए । जिल्लामा ६ सय ४० लाभग्राहीले अझै अनुदान सम्झौता गरेका छैनन् । ५ हजार ४५ जनाले दोस्रो किस्ता र ८ सय ५१ परिवारले तेस्रो किस्ता लिएका छन् ।