साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक शून्य दशमलव २७ प्रतिशत घटेर बन्द भएको छ । अघिल्लो दुई कारोबार दिनमा करिब १५ अंक बजार बढेको थियो । बजार बढेको मौकामा अल्पकालीन लगानीकर्ताहरू नाफा सुरक्षित गर्नतर्फ लागेपछि करेक्सन भएको हो । नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने सुधार देखिएको छ ।

अघिल्लो दिनको तुलनामा यस दिनको कारोबार रकम ३४ दशमलव ४७ प्रतिशत बढेको छ । लगानीकर्ता तथा ब्रोकरहरू नयाँ प्रणालीसँग अभ्यस्त हुँदै गएपछि बजारले गति लिन थालेको हो । नेप्से अनलाइन प्रणालीमा गए पनि लगानीकर्ताहरूले खासै फरक नपाएको एक लगानीकर्ताले बताए । लगानीकर्ताहरू आफैँले सेयर खरिदबिक्री गर्न नसकेसम्म अनलाइन प्रणालीको अर्थ नरहने उनले बताए ।
यस दिनको बजारलाई कम्पनीहरूले प्रकाशित गरिरहेको चालू आवको पहिलो त्रैमासको वित्तीय विवरणले पनि प्रभावित पारेको छ । गत आवको तुलनामा उल्लेख्य नाफा आर्जन गर्न सफल कम्पनीहरूको सेयरतर्फ लगानीकर्ताहरू आकर्षित भइरहेको एक ब्रोकरले बताए । लगानी गर्दा कम्पनीहरूको वित्तीय विवरण तथा आधारभूत अवस्था विश्लेषण गरी लगानी गर्न उनले सुझाए । यसले अहिले मात्र नभई दीर्घकालमा पनि नाफा आर्जन गर्न सकिने उनको भनाइ छ ।
नेप्से परिसूचक यस दिन ३ दशमलव ३१ अंक घटेर १ हजार २ सय ५ दशमलव ५८ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ७४ अंक घटेर २ सय ५६ दशमलव ३९ विन्दुमा पुगेको छ । यस दिन १ सय ५८ कम्पनीको ३ हजार ५ सय २० पटकको कारोबारमा २३ करोड ९८ लाख ६८ हजार १ सय ४२ रुपैयाँबराबरको ८ लाख २७ हजार ८ सय ५६ कित्ता सेयर खरिदबिक्री भएको छ ।
नेप्सेको १४ दिने आरएसआई यस दिन ४१ दशमलव ४३ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ ।
कारोबार रकम, कारोबार संख्या र सेयर संख्याका आधारमा यस दिन पनि प्रभु बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन १ सय ८४ पटकको कारोबारमा २ करोड ३१ लाख ८८ हजार ९ सय ८६ रुपैयाँबराबरको ८९ लाख ९ सय २४ कित्ता सेयर खरिदबिक्री भएको छ ।
एभरेष्ट इन्स्योरेन्स र साल्ट ट्रेडिङ कर्पोरेसनको सेयरमूल्य यस दिन क्रमशः ९ दशमलव ९३ प्रतिशत र ९ दशमलव ७९ प्रतिशत बढेको छ । मेरो माइक्रोफाइनान्स, तारागाउँ रिजेन्सी होटल र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडको सेयरमूल्य यस दिन ४ प्रतिशतको हाराहारीमा घटेको छ । कारोबारमा आएका १ सय ५८ कम्पनीमध्ये यस दिन ४८ कम्पनीको सेयरमूल्य बढेको छ भने ९० कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २० कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।
बिहीबार कारोबारमा आएको होटल समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक घटेको छ । होटेल समूहको परिसूचक यस दिन शून्य दशमलव शून्य २ प्रतिशत बढेको छ । लघुवित्त समूहको परिसूचक यस दिन शून्य दशमलव ८९ प्रतिशत घटेको छ ।
त्यसैगरी, निर्जीवन बिमा समूहको परिसूचक शून्य दशमलव ४३ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव २९ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव २८ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव २१ प्रतिशत, अन्य समूहको शून्य दशमलव १५ प्रतिशत, वित्त समूहको शून्य दशमलव ११ प्रतिशत र जीवन बिमा समूहको शुन्य दशमलव शून्य ३ प्रतिशत घटेको छ ।
महिला सहयात्राको नाफा ५१ लाख १३ हजार
चालू आवको पहिलो त्रैमाससम्ममा महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ५१ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ९९ दशमलव ९६ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले २५ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेपछि कम्पनीको नाफा बढेको हो ।
समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २९ दशमलव शून्य ८ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको सञ्चालन मुनाफा समीक्षा अवधिमा १ सय ६६ दशमलव शून्य ८ प्रतिशत बढेको छ । १२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष सो अवधिमा ४० दशमलव ८१ प्रतिशत बढेर ३ करोड २३ लाख रुपैयाँ पुगको छ ।
कम्पनीको निक्षेप सो अवधिमा १ सय २ दशमलव ६३ प्रतिशत बढेको छ भने कर्जा ७३ दशमलव ३६ प्रतिशत बढेको छ । कम्पनीको निष्क्रिय कर्जा सो अवधिमा घटेर २ दशमलव ४१ प्रतिशत पुगेको छ । कम्पनीले सो अवधिमा सम्भावित जोखिम बापतको व्यवस्थामा ५८ लाख ६१ हजार रुपैयाँ छुट्याएको छ । कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) १६ दशमलव ९० रुपैयाँ, प्रति सेयर नेटवर्थ १ सय २७ रुपैयाँ र प्रति सेयर कुल सम्पत्तीको मूल्य ८ सय ४२ रुपैयाँ रहेको छ । कम्पनीको तरलता अनुपात ३२ प्रतिशत र मूल्य आम्दानी अनुपात ३६ दशमलव २६ रुपैयाँ रहेको छ ।
डिप्रोक्सको नाफा ८ करोड ३४ लाख
चालू आवको पहिलो त्रैमाससम्ममा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ करोड ३४ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ५४ दशमलव १३ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले ५ करोड ४१ लाख ४५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि कम्पनीको नाफा बढेको हो ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २४ दशमलव ७३ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको सञ्चालन मुनाफा समीक्षा अवधिमा ५७ दशमलव २७ प्रतिशत बढेको छ । ७० करोड ३१ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको जगेडा कोष सो अवधिमा ११ दशमलव ७२ प्रतिशत बढेर ७३ करोड १६ लाख रुपैयाँ पुगको छ ।
कम्पनीको निक्षेप सो अवधिमा ४५ दशमलव ५७ प्रतिशत बढेको छ भने कर्जा ४१ दशमलव शून्य ८ प्रतिशत बढेको छ । कम्पनीको निष्क्रिय कर्जा सो अवधिमा बढेर शून्य दशमलव ६२ प्रतिशत पुगेको छ । कम्पनीले सो अवधिमा सम्भावित जोखिमबापतको व्यवस्थामा २ करोड ८६ लाख ७ हजार रुपैयाँ छुट्याएको छ । कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिकीकरण गरिएको) ४७ दशमलव ४८ रुपैयाँ र प्रति सेयर कुल सम्पत्तीको मूल्य १ हजार ३ सय ६५ दशमलव ६६ रुपैयाँ रहेको छ । कम्पनीको तरलता अनुपात ११ दशमलव ३४ र मूल्य आम्दानी अनुपात १३ दशमलव ९४ रहेको छ ।
सूर्योदय लघुवित्तको साधारणसभा
सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ७ गते पुतलीबजार नगरपालिका, स्याङ्जा, जिल्ला समन्वय समितिको कार्यालयको सभाहलमा छैठौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा ४२ दशमलव ७५ प्रतिशत बोनस सेयर, सोको कर प्रयोजनका लागि २ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने, बोनस सेयर वितरणपश्चात् कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने, २ जना सञ्चालकहरूको निर्वाचन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव रहेको छ ।
एनसिसीको हकप्रद बाँडफाँड
नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक लिमिटेडले हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले भदौ ४ गतेदेखि असोज २२ गतेसम्म बिक्री गरेको हकप्रद सेयर बाँडफाँड गरेको हो । कम्पनीले साउन १५ गतेसम्म कायम सेयरधनीहरूका लागि २ बराबर १ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २ सय ९१ कित्ता हकप्रद साधारण सेयर निष्कासन गरेको थियो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
