बजारमा सामान्य सुधार
नयाँ पत्रिकाNaya Parkashan Pvt. Ltd. Star Mall, Putalisadak, Kathmandu Nepal Phone: +977 1 4012566 | 4012666 Fax : +977 1 4012569 Email: enayaonline@gmail.comसेयर बजार
बुधबार बजारमा सामान्य सुधार देखिएको छ । यस दिन नेप्से परिसूचक शून्य दशमलव शून्य ८ प्रतिशत बढेर बन्द भएको छ । बजारसँगै यस दिन कारोबार रकममा पनि केही सुधार देखिएको छ । अनलाइन प्रणालीमा देखिएको समस्या समाधान हुँदै गएपछि बजारले गति लिन थालेको हो ।
नेप्सेमा नयाँ प्रविधिको आगमन भए पनि लगानीकर्ता आफैँले सो प्रविधिको अभ्यास गर्न पाएका छैनन् । लगानीकर्ताले अनलाइनमार्फत जुनसुकै ठाउँबाट सेयर खरिदबिक्री गर्न सकिने भएपछि कारोबार बढ्ने एक लगानीकर्ताले बताए । यस दिनको बजारलाई सूचीकृत कम्पनीहरूले प्रकाशित गरिरहेको वित्तीय विवरणले पनि प्रभावित पारेको देखिन्छ । कम्पनीहरू गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा नाफा बढाउन सफल भएका छन् । यसले लगानीकर्ताको मनोबल बढेको देखिन्छ । लगानीकर्ताले कम्पनीहरूको वित्तीय विवरण विश्लेषण गरी लगानीको निर्णय लिए फाइदा लिन सक्नेछन् ।
नेप्से परिसूचक यस दिन शून्य दशमलव ९८ अंक बढेर १ हजार २ सय ८ दशमलव ५६ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव १७ अंक बढेर २ सय ५७ दशमलव शून्य ६ बिन्दुमा पुगेको छ । यस दिन १ सय ४४ कम्पनीको २ हजार ६ सय २८ पटकको कारोबारमा १७ करोड ८३ लाख ८० हजार ९ सय ३७ रुपैयाँबराबरको ७ लाख ८५ हजार ९ सय ९३ कित्ता सेयर खरिदबिक्री भएको छ ।
नेप्सेको १४ दिने आरएसआई यस दिन ४२ दशमलव ७२ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ । कारोबार रकम, सेयर संख्या र कारोबार संख्याका आधारमा यस दिन प्रभु बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन २ सय २९ पटकको कारोबारमा ३ करोड ८ लाख २० हजार १ सय १२ रुपैयाँबराबरको १ लाख २० हजार ८ सय ५ कित्ता सेयर खरिदबिक्री भएको छ ।
नेप्से सामान्य अंक मात्र बढेका कारण कम्पनीहरूको सेयरमूल्य पनि सामान्य मात्र बढेको छ । यस दिन युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र समता माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमूल्य करिब ४ प्रतिशत बढेको छ । महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य यस दिन ४ दशमलव २१ प्रतिशत घटेको छ । कारोबारमा आएका १ सय ४४ कम्पनीमध्ये यस दिन ७० कम्पनीको सेयरमूल्य बढेको छ भने ४९ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २५ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।
बुधबार कारोबारमा आएको वाणिज्य बैंक, विकास बैंक र निर्जीवन बिमा समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक घटेको छ । यस दिन निर्जीवन बिमा समूहको परिसूचक शून्य दशमलव ६ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव २६ प्रतिशत र विकास बैंक समूहको शून्य दशमलव २४ प्रतिशत बढेको छ । जीवन बिमा समूहको परिसूचक यस दिन शून्य दशमलव ८२ प्रतिशत घटेको छ । त्यसैगरी, वित्त समूहको परिसूचक शून्य दशमलव ६२ प्रतिशत, होटेल समूहको शून्य दशमलव ४३ प्रतिशत, अन्य समूहको शून्य दशमलव २१ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव १५ प्रतिशत र जलविद्युत् कम्पनीको शून्य दशमलव १३ प्रतिशत घटेको छ ।
मध्यभोटेकोसीको आइपिओ
मध्यभोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले कात्तिक २८ गतेदेखि पहिलो चरणमा कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताका लागि १ करोड १७ लाख कित्ता निष्कासन गरेको छ । सो सेयरमा सञ्चयकर्ताले मंसिर १४ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि १० अंकले भाग जाने संख्यामा अधिकतम ५ सय कित्तासम्मका लागि आवेदन
दिन सक्नेछन् ।
दोस्रो चरणमा कम्पनीले संस्थापक संगठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीहरूका लागि ६ लाख कित्ता साधारण सेयर निष्कासन गर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सहनिष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेका छन् । कम्पनीले निष्कासन गर्न लागेको आइपिओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी आइपिओ ग्रेड ४ प्लस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्दछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेको सम्पूर्ण सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
नागबेलीको अवितरित हकप्रद लिलाम बिक्री
नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर ५ गतेदेखि ९ हजार ५ सय १८ दशमलव ४४ कित्ता अवितरित हकप्रद सेयर सिलबन्दी बोलपत्रमार्फत बिक्री गर्ने भएको छ । लगानीकर्ताले मंसिर १२ गतेसम्म सो सेयर खरिदका लागि सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । सेयरको न्यूनतम मूल्य प्रतिसेयर १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेस गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम १ सय कित्ता वा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा वा नेपाल राष्ट्र बैंकले तोकेको प्रतिव्यक्ति सीमाको अधीनमा रहने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एनएमबि क्यापिटल, एनएनबि बैंकका विराटनगर, वीरगन्ज, बुटवल, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट सिलबन्दी बोलपत्र पेस
गर्न सक्नेछन् ।
मूल्य समायोजन
बुधबार नेप्सेले ३ कम्पनीहरूको मूल्य समायोजन गरेको छ । नेप्सेले एभरेष्ट इन्स्योरेन्सको १ सय ५ प्रतिशत हकप्रद सेयरपछिको समायोजन मूल्य ५ सय ६३ दशमलव ४१ तोकेको छ । समायोजनका लागि कम्पनीको औसत आधार मूल्य ९ सय ५८ दशमलव १२ तोकिएको थियो । महुली सामुदायिक लघुवित्त संस्था लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्कासनपछिको समायोजन मूल्य १ हजार ५ सय ५५ दशमलव ५३ रुपैयाँ तोकेको छ । समायोजनका लागि कम्पनीको औसत आधारमूल्य १ हजार १ सय ४५ दशमलव २६ रुपैयाँ तोकिएको थियो । त्यसैगरी, कन्काई विकास बैंक लिमिटेडको ३ प्रतिशत बोनस सेयरपछिको समायोजन मूल्य १ सय २४ दशमलव २७ रुपैयाँ तोकेको छ । समायोजनका लागि कम्पनीको औसत आधार मूल्य १ सय ७६ दशमलव १४ तोकिएको थियो ।