घरेलु लिग उतारचढावपूर्ण विगत - Naya Patrika
eNaya Patrika
  • ePaper

घरेलु लिग उतारचढावपूर्ण विगत

०५२ मा आएर लिगमा संसारमा कतै नभएको नौलो प्रयोग गरियो । त्यो थियो, लिगमा समूह विभाजन गरेर गरिएको प्रतिस्पर्धा । त्यसले पनि लिगलाई स्थिर र ब्यावसायिक बनाउन सकेन ।

अहिले नेपाली फुटबल थिलथिलो अवस्थाबाट माथि उठ्न प्रयासरत छ । राष्ट्रिय टिमका लागि खेलाडी छनोटको आधार मानिने लिग नभएको तीन वर्ष पूरा भएको छ । लामो समयपछि १३ असोजबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग हुँदै छ । यसबीचमा खराब अवस्थाबाट गुज्रिएको नेपाली फुटबल लिगको पुरानो विरासत भने सम्झनलायक छ ।


नेपालमा लिग फुटबलको सुरुवात २०११ बाट नै भएको हो । तर, अझैसम्म पनि एकै प्रकार र स्थिर लिग सञ्चालन हुन नसक्दा सधैँ लिगको भविष्य अनिश्चित नै भएकाले व्यावसायिक हुन सकेको छैन । त्यसैले कुनै समय दक्षिण एसियामा नै तहल्का मच्चाउन सफल नेपाली फुटबल अहिले ओरालो यात्रामा छ ।

गत वर्ष नेपाली फुटबलमा युवा प्रतिभाले केही आस देखाए पनि आफ्नो प्रतिभामा निखार ल्याउने ठाउँ नहुँदा पछिल्लो समय नेपाली फुटबलले कुनै चामत्कारिक नतिजा निकाल्न सकेको छैन । अन्तर्राष्ट्रिय मञ्चहरूमा राम्रो मौका पाए पनि नेपाली फुटबल कतै हराइरहेको भान हुन्छ ।

पञचायतअघिको फुटबल
वि.सं. २०११ बाट औपचारिक रूपमा लिग सञ्चालन भयो । २०११ बाट २०४६ सम्म २९ पटक लिग सञ्चालन भएको इतिहास छ । त्यसपछिको बहुदलीय कालमा भने नेपाली फुटबल फेरि दुष्चक्रमा फस्यो । ०४६ देखि ०५२ सालसम्म लिग सञ्चालन हुन सकेन ।

जतिवेला नेपाली फुटबल विकासको अग्रणी अवस्थामा रहनुपर्ने हो, त्यही समयमा लिग नै हुन सकेन । पछिल्लोपटक मनाङ मस्र्याङ्दी क्लबको उदयसँगै ०४६ अघिका तीनवटा लिगमा मनाङको वर्चस्व रहेको थियो । ०४३ अघि ए डिभिजनमा बढुवा भएको मनाङले त्यसपछि निरन्तर सफलतामा आफूलाई अब्बल बनायो । ‘ए’ डिभिजन उक्लिएपछि मनाङले पछि फर्कनुपरेको छैन ।

त्यसो त ए डिभिजनमा बढुवा हुँदा पनि मनाङले सनसनीपूर्ण प्रदर्शन गरेको मानिन्छ । अधिकांश खेलाडी ठमेल ११ को टिमबाट खेल्ने गरे पनि विवादका कारण उक्त क्लब लामो समय चल्न सकेन । पछि सोही क्लब नै मनाङ मस्र्याङ्दीका नाममा स्थापना भएको मानिन्छ । मनाङले डी डिभिजनबाट नै आफूलाई एसम्म ल्याएको थियो । भनिन्छ, मनाङले त्यो समयमा समूह डीबाट एसम्म पुग्दा सबैमा च्याम्पियन भएको थियो । अझ कुनै पनि खेल हारेको थिएन । त्यसपछि मनाङ ०४३ सँगै ०४४ र ०४६ मा पनि च्याम्पियन बन्यो । त्यसपछि भने नेपाली फुटबलले लामो समय लिगका लागि प्रतीक्षा गर्नुप-यो ।

लिग सञचालनको एजेन्डा नै  एन्फा निर्वाचन
लामो समय लिग नहुँदा आलोचना बढ्दै गएको थियो । ०५२ सालमा लिग सञ्चालन गर्ने मुख्य एजेन्डा लिएका गणेश थापा एन्फा अध्यक्ष निर्वाचित भए । त्यसपछि उनको कार्यकालमा नेपाली फुटबल निकै चलायमान रह्यो । अरू खेल खेल्ने खेलाडी पनि नेपाली फुटबलको नियमित प्रतियोगिता र सञ्चालनले डाह गर्थे । तर, गणेश थापाको राम्रो अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तारै भ्रष्टाचार मुद्दामा केन्द्रित हुँदै गएपछि उनी फिफाद्वारा १० वर्ष प्रतिबन्धमा परे भने उनको २० वर्षे फुटबल विरासत कालो दागसँगै औपचारिक अन्त भयो ।


०५२ यता लिगमा स्टार खेलाडीहरूको रवाफ रहेको थियो । ०५२ सालमा एनआरटीले लिग जित्यो । तत्कालीन लिग जित्दा नेपाली फुटबलमा स्टार छवि बनाइसकेका हरि खड्का एनआरटीका महत्वपूर्ण खेलाडी थिए । ०५४ मा भएको लिगमा थ्रीस्टार च्याम्पियन बन्यो । अनन्त थापा तत्कालीन समयमा थ्रीस्टारको जितमा नायक साबित भएका थिए । ०५७ मा पुनः मनाङले नै लिग जित्यो । त्यतिवेला वसन्त थापाको कप्तानीमा रहेको मनाङका कुमार थापाको उत्कृष्ट प्रदर्शन लिगमा सम्झनलायक रह्यो ।

अस्थिर लिग प्रणाली
नेपाली फुटबल लिगमा कहिल्यै पनि एकरूपता आएन । ०४६ सालमा सबैले एक टिमसँग एकपटक प्रतिस्पर्धा गरेका थिए । ०५२ मा आएर संसारमा कतै नभएको नौलो प्रयोग गरियो । त्यो थियो, लिगमा समूह विभाजन गरेर गरिएको प्रतिस्पर्धा । त्यसले पनि स्थिरता दिएन । पुनः ०५४ देखि ०६० सम्म एक–एकपटक प्रतिस्पर्धाका आधारमा लिग सञ्चालन गरियो । त्यस्तै, ०६१ मा आएपछि टप सिक्सको अवधारणा ल्याइएको थियो । शीर्ष ६ मा पर्ने टिमले डबल राउन्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्न पाउने भए । त्यसपपछि फेरि ०६२ देखि ०६८ सम्म १८ वटा टिम सहभागी थिए । सबैले सबैसँग खेल्न पाउने गरी लिग सञ्चालन गरिएको थियो ।

दर्शकको चार्म
६० कै दशकमा नेपाली लिगले दर्शकको साथ राम्रै पायो । त्यो बीचमा एन्फाले गेटमुनिबाट नै लाखौँ रुपैयाँ उठाउँदै क्लबलाई निश्चित प्रतिशत रकम दिने चलन सुरु गरेको थियो । विशेष गरेर मनाङ, थ्रीस्टार, आर्मी, पुलिसबीच एक–अर्काको खेल हुँदा हजारौँ दर्शक मैदानमा ओर्लने गरेका थिए ।

लिग चल्यो, क्लब धराशयी बने
लिग सञ्चालन भएपछि क्लबहरू समृद्ध हुनुपर्ने हो तर नेपालमा भने फरक रह्यो । पुरस्कार राशिमा व्यापक वृद्धि गरियो । १ करोडसम्म पुरस्कार राशि विजेताले पाउने बनाइयो । त्यसबीचमा लिगको खर्च करौडौँ बन्यो, जसले गर्दा स्टार खेलाडी भित्र्याउनुपर्ने बाध्यता क्लबमा आइप-यो । जतिवेला नेपाली खेलाडीले कहिल्यै नपाएको पैसा पाएका थिए । जसले गर्दा लाखौँमा डिल भएर खेलाडी किनबेच भए ।

यसले लिगमा चाम बढायो तर क्लबको आयस्रोत सकिँदै गयो । परिणामतः नेपाली फुटबलमा सर्वाधिक पुरानो क्लबका रूपमा रहेको न्युरोड टिम एनआरटीले ए डिभिजन लिग नै नखेल्ने घोषणा गर्न बाध्य भयो । रानीपोखरी कर्नर टिम आरसिटी पनि आर्थिक संकटमा धकेलियो । त्यसो त फ्रेन्ड्स, जावलाखेललगायतका क्लबलाई पनि आर्थिक भारले उठ्न नसक्ने बनाएको थियो । तर, यसबीचमा लिग नभएपछि पुनः धेरै क्लबहरूले आफूलाई पुरानै अवस्थामा पु-याएका छन् । यद्यपि, लिगलाई व्यवस्थित बनाउन क्लबलाई बलियो बनाउने अवधारणा भने नेपाली फुटबलमा अहिलेसम्म आउन सकेको छैन, जुन नेपाली फुटबलको दुर्भाग्य हो ।

अहिले विभागीयबाहेक  ३ क्लब मात्र सक्रिय
नेपाली फुटबलमा लिग भएको छैन तर मोफसलका प्रतियोगिताहरूमा ए डिभिजनका विभागीयबाहेक तीन क्लब मात्र सक्रिय छन् । थ्रीस्टार, मनाङ र संकटाले मोफसलमा आफूलाई देखाए पनि अन्य क्लब भने फुटबलविहीन अवस्थामा रहेका छन् । यद्यपि, लिगको संरचना स्थायी नभएसम्म नेपाली फुटबलको अस्थिरता कायम रहनेछ । तर, लिगको नयाँ मिति तय भएसँगै खेलाडीविहीन रहेका क्लबहरूले पनि आफ्नो अस्तित्व देखाउन खेलाडी अनुबन्धन लगभग पूरा गरिसकेका छन् ।

०७२ पछि लिग नै अनिश्चित
०७२ मा नेपालमा विनाशकारी भूकम्प गयो । ०७२ मा भूकम्प गएको दिनमा पनि झापामा लिग खेल सञ्चालन भएको थियो । त्यसपछि भने नेपाली फुटबल लिगविहीन भएको ३ वर्ष पूरा भएको छ । ०७१ मा होम एन्ड अवे सिस्टममा लैजाने भन्दै मोफस र ए डिभिजनका क्बलहरूबीच प्रतिस्पर्धा गराइएको थियो । तर, त्यसपछि नेपाली लिग फुटबल उठ्ने संघारमा छ । फेरि पनि लिगको औपचारिक मापदण्डलाई कुल्चिएर नयाँ संरचानका आधारमा १३ असोजबाट लिग हुँदै छ । जहाँ हामीले कुनै क्लबलाई रेलिगेसन जोनमा देख्नेछैनौँ । यद्यपि, क्लबहरूले यसलाई सकारात्मक मानेकाले लिग तोकिएकै समयमा हुने भन्दै एन्फाले खेल तालिका नै सार्वजनिक गरिसकेको छ ।

६० को दशक : लिग फुटबलको स्वर्णिम समय
०६० देखि ०७१ सम्म नेपाली फुटबलले व्यावसायिकताको आधार तयार गरिसकेको थियो । तर, एन्फाले क्लबहरूलाई नहेरेको भन्दै लिग खेल्न नसक्ने अवस्थासमेत यही बीचमा सिर्जना भयो । तर, खेलाडीका लागि भने नेपाली फुटबलको स्वर्णिम समय रह्यो । सोही समयका स्टार फुटबलर हरि खड्का पनि ६० को दशकलाई नेपाली फुटबल लिगमा ऐतिहासिक मान्छन् । उनी भन्छन्, ‘त्योवेला लिग फुटबल निकै राम्रो अवस्थामा थियो ।

अहिलेसम्मलाई आधार मान्ने हो भने स्वर्णिम समय नै हो ।’ उनी नेपाली फुटबलमा लिगलाई खेलाडी उत्पादनको मेरुदण्ड बनाउन व्यावसायिकता आवश्यक रहेको कुरामा जोड दिन्छन् । उनी भन्छन्, ‘हामी सधैँ अस्थिर लिग संरचनाको सिकार भयौँ । लिगलाई कहिले गर्ने, कहिले नगर्ने गर्दा व्यावसायिक हुँदैन ।

व्यावसायिक नहुनासाथ क्लबदेखि खेलाडी र संरचना नै धराशयी हुन्छ ।’ लिग सञ्चालनसँगै मनाङले आफ्नो विरासत भने कायमै राख्यो । ०६० सालमा पनि मनाङले आफ्नो दबदबा कायमै राख्यो र पाँचौँपटक लिग च्याम्पियन बन्यो । त्यो वेला पनि कुमार थापाले सम्झनलायक प्रदर्शन गरेका थिए ।

०६१ मा भने उपेन्द्रमान सिंहको कप्तानीमा रहेको थ्रीस्टारले उपाधि जित्यो । उक्त समयमा उपेन्द्रमान सिंहको चर्चा उत्कर्षमा थियो । गोलरक्षक भए पनि उपेन्द्र त्यो समयमा स्टार फुटबलरको शीर्ष स्थानमा आफूलाई उभ्याउन सफल भएका थिए ।

यद्यपि, नेपाली लिग फुटबलमा परीक्षण भने निरन्तर थियो, कहिले थोरै टिम त कहिले धेरै । अनेकन नयाँ तरिकाको प्रयासले लिगको अस्थिरता जारी थियो । तर, ०६३ पछि पुनः केही वर्ष लिग भएन । ०६६–६७ मा तत्कालीन अध्यक्ष गणेश थापाले लिगलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने भन्दै डबल राउन्ड रोबिनका आधारमा लिग सञ्चालन गरेका थिए । उक्त समयमा विभागीय टिमले आफूलाई स्थापित गराए ।

नेपाल पुलिस सर्वाधिक बलियो टिमका रूपमा अघि स-यो । तर, विभागीय टिमलाई कडा टक्कर दिन थ्रीस्टार र मनाङ सफल भएका थिए । त्यसपछि ०६८ मा पुनः पुलिस नै च्याम्पियन बन्यो भने ०६९ मा थ्रीस्टारले बाजी मा-यो । त्यसपछिका दुईवटा लिगमा लगातार मनाङ च्याम्पियन बन्यो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु