माघे संक्रान्तिलाई कन्दमूलकाे जाेहाे [फाेटाेफिचर] - Naya Patrika
eNaya Patrika
  • ePaper

माघे संक्रान्तिलाई कन्दमूलकाे जाेहाे [फाेटाेफिचर]

माघे संक्रान्तिमा खाइने तरुल र सखरखण्डको कारोबार लमजुङमा ह्वात्तै बढेको छ । एकसाता अघिदेखि नै लमजुङको सदरमुकाम वेसीशहरसहित सुन्दरबजार, भोटेओडार, खुदी, भूलभूले, उदीपुर, भोर्लेटार, रामबजारलगायतका ठाउँमा तरुल तथा सखरखण्डको व्यापार बढेको व्यापारीहरुले बताएका छन् ।

आठ वर्षदेखि बेशिसहरको शेराचोकको सडक छेउमा तरकारी तथा फलफूलको व्यापार गदै आएकी बेसिशहर नगरपालिका ३ गाउँशहरका चन्द्रमाया परियारले यसवर्ष तरुल र सखरखण्डको माग बढेको बताइन् ।

  

उनले भनिन्, ‘विगतका वर्षहरुमा तरुल र सखरखण्ड बिक्री हुन निर्कै कठिन हुने थियो’ । यसवर्ष त खरिद गरेको दुई दिनमै ६ हजारको तरुल र २ हजार रुपैयाको सखरखण्को कारोबार भयो । उनले रातो, पातलो, लैरे पन्जे सेतो र रातो जातका तरुल विक्री गरेको बताइन् । प्रतिकिलो ३० रुपैयाँमा खरिद गरेर परियारले ६० रुपैयामा यसवर्ष तरुल बिक्री गरेकी छन् ।

जिल्लाको बजार क्षेत्रहरुमा तरुल तथा सखरखण्डको व्यापार राम्रो भएको व्यापारीहरुले बताएका छन् । यी कन्दमूलको माग बढेपछि लमजुङको उत्पादनले थेग्न सकेको छैन ।  व्यवासयीहरुले जिल्ला बाहिरबाट तरुल तथा सखरखण्ड ल्याएर विक्रि गरेको बताएका छन् ।

लमजुङमा बिक्रीका लागि राखिएका तरुल तथा सखरखण्ड छिमेकी जिल्ला तनहूँ र गोरखाबाट ल्याइएको बेशिसहर ठाडोलाइनका फलफूल तथा तरकारी व्यापारी विष्णुभगवान श्रेष्ठले बताए ।

विशेष गरी माघे संक्रान्तिको अवसर पारेर खाइने यी कन्दमूलहरुले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने जिल्ला सामुदायिक अस्पताल लमजुङका मेडिकल अफिसर डा. प्रकाश साहु बताउँछन् । उनले चाडवाडको नाममा शरीरलाई चाहिने भन्दा धेरै खाएमा विभिन्न स्वास्थ्य समस्या देखिने भन्दै आफ्नो शरीरलाई असर नगर्ने गरी मात्र खानेकुरा खान समेत आग्रह गरेका छन् ।

माघे संक्रान्तिमा घीउ र चाकुसँग तरुल खानु अनिर्वाय मानिन्छ । यो समयमा मुख्यरुपमा खनिने भएकाले बजारमा आलुको विकल्पमा तरुल किन्नेहरु बढेका छन् । जिल्लामा व्यवसायिक रुपमा तरुल तथा सखरखण्ड खेती नहुँदा बाहिरी जिल्लाबाट ल्याउनुपर्ने बाध्यता रहेको जिल्ला कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले बताए ।

जिल्लामा तरुल र सखरखण्डको खेतीलाई व्यवसायिक बनाउन आवश्यक छ । माघे संक्रान्ति पर्वको अवसरमा बढी व्यापार हुने वन तरुल लमजुङको भुजुङ, पसगाउँ, सिङ्दी, भोँजे, घाम्राङ, तामू, घनपोखरा, सिउरुङ, ताघ्रिङ, चिप्ला, घेर्मु, हिलेटक्सार, पाचोक, दूधपोखरी, ईलमपोखरी लगायतका ठाउँहरुमा पाईन्छ । तर, आवश्यक संरक्षण र संवद्र्धन हुन नसक्दा लमजुङका बनजंगलबाट वन तरुल लोप हुने अवस्थामा पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु