सडकका लागि जनप्रतिनिधिले नै जग्गा नदिएपछि झडप, ५ घाइते - Naya Patrika
eNaya Patrika
  • ePaper

सडकका लागि जनप्रतिनिधिले नै जग्गा नदिएपछि झडप, ५ घाइते

रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका ६ टुमुरेनिमा सडक खन्ने विषयमा झडप हुँदा पाँच जना घाइते भएका छन् । वडा नम्बर ६ को राम्चेदेखि टाकुरा, टिमुरेनि हुँदै चौखे जोड्ने सडक निर्माणका क्रममा झडप हुँदा सडक उपभोक्ता समितिका कोषाध्यक्ष सहित ३ जना घाईते भएका हुन् ।

घाइते हुनेमा सडक निर्माण उपभोक्ता समितका कोषाध्यक्ष खीमा महतारा सहित स्थानीय सीता बुढाथोकी र समिक्षा बोहोरा रहेकी छन् । त्यस्तै उपभोक्ता समितिका सदस्य पम्फि विक र स्थानीय सीता बिसी पनि सामान्य घाईते भएको उपभोक्ता समितिका अध्यक्ष महेन्द्र बिकले जानकारी दिए । घाईतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ ।

६ नम्बर वडाबाट महिला सदस्यमा निर्वाचित दिला महतारा र उहाँको परिवारले आफ्नो जग्गामा सडक खन्न नदिएपछि विवाद सुरु भएको थियो । दिला नगर कार्यपालिका सदस्य समेत हुन । २८ गते साँझदेखि सडक खन्ने विषयमा विवाद सृजना भएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष बिकले बताए ।

फाइल फाेटाे

उनका अनुसार, नगर कार्यपालिका सदस्य महतारा र उहाँको परिवारले आफ्नो जग्गामा सडक खन्न नदिने बताएपछि विवाद सृजना भएको हो । उक्त विवाद समाधानका लागि ३ दिनसम्म लगातार छलफल भएपनि विवाद मिल्न नसकेपछि स्थानीयले सडक अगाडी बढाउँन खोज्दा विवाद भएको बताईएको छ । आफुहरुले सडकका लागि जग्गा दिईसक्दा पनि आफैले जिताएका जनप्रतिनिधिले किन जग्गा नदिने भन्दै स्थानीयले सडक अगाडी बढाउँन खोजेपछि विवाद भएको हो ।

सडक निर्माण कार्य रोकियो

अहिले सडक निर्माण कार्य रोकिएको छ । अव यहि अवस्थामा सडक निर्माण कार्य अगाडी नबढ्ने वडाध्यक्ष जयलाल महताराले बताए । वडा तहबाट विवाद मिल्न नसक्ने र सडक निर्माणलाई अगाडी बढाउँदा थप झडप हुनसक्ने भएकाले अब सडक निर्माणलाई यहि रोक्ने उनको भनाई छ । नगरपालिकाको ३० लाख लागतमा निर्माण हुन लागेको करिब ६ किलोमिटर सडकमध्य अहिले सम्म ३ किलोमिटर सडक निर्माण भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु