चोरीका ९ मोटरसाइकलसहित ८ जना पक्राउ - Naya Patrika
eNaya Patrika
  • ePaper

चोरीका ९ मोटरसाइकलसहित ८ जना पक्राउ

भन्सार छलेर भारतबाट भित्र्याइएका चोरीका नौ वटा मोटरसाइकलसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडले चोरीका मोटरसाइकलसहित ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–६ का सुदिप रिजाल, बिर्तामोड–१० का विरेन्द्र लिम्बू, कचनकवल गाउँपालिका–२ का सञ्जोग लिम्बू, कन्काई नगरपालिका–२ का विशाल पुरी, सोही स्थानका अभिषेक मगर, बिर्तामोड–२ का हरि न्यौपाने, अर्जुनधारा नगरपालिका–२ का ओम प्रकाश सेन्चुरी र भद्रपुर नगरपालिका–२ का युवराज राई छन् ।

जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए । नियन्त्रणमा लिइएका मोटरसाइकलमध्ये ६ वटाको ‘भेरिफिकेशन’ भइसकेको प्रहरीले जनाएको छ । ‘यी मोटरसाइकल यिनीहरु आफैँले चोरेर ल्याएका होइनन्, सस्तोमा किनेका हुन्,’ डिएसपी कोइरालाले भने, ‘तर, कुनै पनि मोटरसाइकलको कागजपत्र छैन, यातायात व्यवस्था कार्यालयको रेकर्ड हेर्दा यी मोटरसाइकलको कुनै पनि रेकर्ड देखिएन ।’

भेरिफिकेसन भइसकेका ६ वटा मोटरसाइकलमध्ये दुई वटा बुलेट, एउटा ड्युक र ३ वटा पल्सर छन् । बाँकी ३ वटाको पनि भेरिफिकेशन गर्ने कार्य जारी रहेको डिएसपी कोइरालाले जानकारी दिए । कुनै मोटरसाइकल सैनिक बजारबाट, कुनै भद्रपुरबाट र कुनै जामुनखाडीबाट नियन्त्रणमा लिइएको डिएसपी कोइरालाले बताए । पक्राउ परेका ८ जना एकै समूहका नभएको पनि प्रहरीको दाबी छ ।

‘यी कुनै पनि मोटरसाइकल यहाँबाट चोरी भएका होइनन्, नेपालमा बिक्री वितरण गर्नका लागि सबै भन्सार छली गरेर ल्याइएको हो,’ डिएसपी कोइरालाले भने, ‘नेपाल भित्र्याउने बित्तिकै उनीहरुले अनाधिकृत रुपमा नेपाली नम्बर प्लेट हालेर चलाइरहेका हुन् ।’ मोटरसाइकलमा प्रयोग गरिएको नम्बर यातायात कार्यालयको रेकर्डमा नभेटिएको प्रहरीले जनाएको छ ।

चोरी तस्करीमा दुईखाले समूह

मोटरसाइकल चोरी तस्करीमा २ प्रकारको समूह रहेको प्रहरीको भनाइ छ । एउटा समूहले नेपालकै मोटरसाइकल चोरी गरेर भारत तथा नेपालकै पहाडी क्षेत्र लैजाने गरेको डिएसपी कोइरालाले बताए ।

अर्को समूहले भने भारतबाट ल्याइएका मोटरसाइकल नेपालका बजारमा बिक्री वितरण गरिरहेको उनको दाबी छ । ‘भारतबाट चोरहरुले मोटरसाइकल ल्याएर यो समूहलाई दिन्छन्, यो समूहले नेपाली बजारमा बिक्री गर्छ,’ उनले भने ।

सबै मोटरसाइकलहरु बिना कागजपत्रका भएको र भारतबाट भन्सार छलेर ल्याइएका कारण पक्राउ परेका सबैलाई भन्सार ऐनअन्तर्गत भन्सार चोरी निकासीको कारबाही हुने प्रहरीले जनाएको छ । पक्राउ परेका आठै जनालाई मोटरसाइकलसहित आइतबार मेची भन्सार कार्यालयमा पठाइएको छ ।

बिर्तामोडमा बढ्यो मोटरसाइकल चोरी

केही समययता बिर्तामोडबाट पनि मोटरसाइकल चोरी हुने क्रम बढेको छ । बिर्तामोडबाट हराएका मोटरसाइकलहरुमा उनीहरुको संलग्नता छ कि छैन भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडमा यस आर्थिक वर्षमा मोटरसाइकल हराएको ३० वटा उजुरी परेको छ । साउनयता बिर्तामोडमा मोटरसाइकल चोरी हुने क्रम बढेको प्रहरी आफैँ बताउँछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु